डोटी - सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार २९२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ३ हजार ७९७ तथा आरडीटी विधिबाट १८ हजार ७५४ जनाको परीक्षण गरिएको छ ।
प्रदेशका नौओटै जिल्लामा गरी कुल ३ हजार १५० आरडीटी किट र ८११ भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मौज्दात रहेको बताइएको छ । आइतवारसम्म प्रदेशका विभिन्न जिल्लामा गरी १ हजार ४०१ पुरुष र १५८ महिला गरी १ हजार ५५९ जना क्वारेन्टाइनमा राखिएका छन् ।
डोटी जिल्ला अस्पतालमा एक, सेती प्रादेशिक अस्पताल कैलालीमा चार, बझाङ जिल्ला अस्पतालमा आठ, बैतडी जिल्ला अस्पतालमा एक र बाजुरा जिल्ला अस्पतालमा तीन गरी १७ नागरिक आइसोलेसनमा भर्ना भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा हाल कुनै पनि व्यक्ति कोरोना सङ्क्रमित नभएको मन्त्रालयले बताएको छ । यसअघि प्रदेशभित्र देखिएका ५ सङ्क्रमित निको भएर घर गइसकेका छन् । यस्तै आइसोलेसनमा राखी सामान्य उपचारपछि १४७ जना घर फर्किसकेका छन् । रासस