अत्तरिया – प्रदेश सरकारले आफ्नो २ बर्षको उपलब्धिमा प्रदेश राजधानीको नामाकरण र राजधानी क्षेत्र तोक्नुलाई लिदैं आएको छ । प्रदेशको राजधानीको नाम सुदूरपश्चिम प्रदेश कार्यान्वयमा आएपनि स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी क्षेत्रमा भौतिक प्रगती शुन्य छ । २०७५ असोज १२ गते सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको थियो ।
केन्द्रीय शासन प्रणालीबाट पछाडि पारिएकाले सुदूरपश्चिम प्रदेश पछाडी परेको भनिदै आएकोमा सुदूरपश्चिम प्रदेशमा नै छुटै सरकार बनेपछि यस क्षेत्रका विकास हुनेमा आम नागरिकको आशा बढेको थियो । त्यसमा पनि आफ्नौ ठाउँमा प्रदेशको राजधानी नै तोकिएकाले यस क्षेत्रका आम नागरिकका प्रदेश सरकार प्रति झनै बढी अपेक्षा थिए । प्रदेश सरकार बनेको २ बर्ष र राजधानी गोदावरी तोकिएको डेढ बर्ष पुग्न लाग्दा पनि नत राजधानी नै बनेको नत राजधानी तोकिएको क्षेत्रमा विकासले गति लिन सकेको स्थानियले गुनासो गरेका छन ।
राजधानी कार्यान्वयन नहुँदा झनै विकृति बढ्यो
गोदावरी नगरपालिका ३ का प्रेम राज भण्डारीले प्रदेश सरकारको मुख्य उपलब्धी राजधानी तोकिनु पनि भनिदै आएकोमा कार्यान्वयन नहुँदा झनै विकृति बढेको बताए । ‘यस क्षेत्रमा राजधानी नै ताकियो भनेर जनता उत्साहित भएका थिए । गोदावरी नगरपालिकाको स्वतः विकास हुने अपेक्षा आम जनमानसमा थियो ।’ उनले भने – ‘अहिले यस क्षेत्रमा जग्गाको भाउ मात्रै बढ्यो, बसाईसराईले अस्तव्यस्त भएको छ । झन यस क्षेत्रमा बेरोजगारीको संख्या बढेको छ । विकृति झन बढ्यो ।’ उनले राजधानी घोषणा संङ्गै यस क्षेत्रमा बढ्न सक्ने बसाईसराईलाई मद्यनजर गरी सोहि बमोजिम योजना बनाउन सकेको भए समस्या नहुने बताए । ‘अहिले मानिसहरु राजधानी घोषणा भएको ठाउँमा विकास हुन्छ रोजगारी पाईन्छ भनेर बसाई सरेर आउने गरेका छन । ३ धुर, ५ धुर जग्गा किनेर पनि बस्ने गरेका छन ।’ चौकिडाडा सामुदायिक वनका अध्यक्ष समेत रहेका भण्डारीले भने – ‘तर २ बर्षमा प्रदेश सरकार नै आफै आरोप, प्रत्यारोपमा रुमलिएकाले अन्य क्षेत्रका जनता जस्तै प्रदेश राजधानी घोषणा भएका जनता पनि निरास भएका छन ।’
अहिले सरकारमा भएकाले आफ्नो पार्टी त्यसमा पनि आफ्नो मान्छेलाई प्राथमिकता दिने प्रवृतिका कारण झनै समस्या आएको बताए । उनले आगामी दिनमा सरकारले सबैभन्दा पहिले राजधानी तोकिएको क्षेत्र कार्यान्वयन गर्न तर्फ ध्यान दिनुपर्ने बताए । उनले अहिले आफ्नालाई मात्रै भन्ने प्रवृति पनि हटाउनु पर्ने बताए । ‘दलिय राजनीतिक व्यवस्था भएपनि राम्रा कामको सबैले प्रसन्सा गर्ने र नराम्रा कामको सबैले आलोचना गर्न सक्नुपर्छ ।’ उनले भने – ‘यहाँ विपक्षमा भएको पार्टीले पनि राम्रा कामको स्वागत गर्न सक्नुपर्छ । तर विपक्षीले राम्रो काम गरे भोलि उसले नै अवसर पाउने हो हामी पछि पर्ने हौ भन्ने मानसिकता रहनु नराम्रो हो ।’
राजधानी तोकेर जनतालाई भ्रम हाल्ने काम मात्रै भयो
अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी विकले चुनावमा नेताहरुले गरेका बाचा बमोजिम काम हुन नसकेको बताए । उनले यस क्षेत्रमा पनि राजधानी तोकेर जनतालाई भ्रममा हाल्ने काम मात्रै भएको बताए । ‘जनता पूर्ण रुपमा सन्तुष्ट छैनन् । प्रदेश सरकारले बिभिन्न योजना र विकास निर्माणका काम सुचारु गरेपनि कार्यान्वयमा आउन सकेका छैनन् ।’ उनले भने– ‘यस क्षेत्रमा प्रदेशको राजधानीनै तोकिएकाले यस क्षेत्रका स्थानियबासि अति उत्साहित भएका थिए । यस क्षेत्रमा विकास हुन्छ भन्ने अपेक्षा थियो ।’
प्रदेश सरकारको उपलब्धि शून्य
गोदावरी नगरपालिका ४ का टिकादत्त जोशीले प्रदेश सरकारको उपलब्धि शून्य रहेको बताए । राजधानी क्षेत्र तोकिएको बासिन्दाको हैसियतले प्रदेश सरकारको महत्तपूर्ण निर्णय राजधानी तोकिनुलाई लिएका थियौ तर अहिले त्यसको कार्यान्वयको उपलब्धी पनि शून्य नै भएको जोशीले बताए । ‘गोदावरी राजधानी एकदमै उपयुक्त ठाउँमा तोकिएको थियो । तर यसलाई कार्यान्वयमा ल्याउने बिषयमा प्रदेश सरकारको उपलब्धी शुन्य भयो ।’ –जोशीले भने । उनले राजधानी क्षेत्र कार्यान्वयन गर्ने बाहेकका काममा पनि प्रदेश सरकारका उपलब्धि शुन्य नै भएको बताए ।
‘प्रदेश सरकारको कामै छैन । किन छैन भने, स्थानिय निकाय अधिकार सम्पन्न छन । संघिय सरकार अधिकार सम्पन्न छ । बिचको प्रदेश सरकारको काम नै छैन ।’ अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष समेत रहेका जोशीले भने – ‘कि स्थानिय सरकारलाई प्रदेश सरकार मातहतमा राख्नु पथ्र्यो, यसको मोडेल नै राम्रो भएन ।’
उनले अझै पनि यस सरकारको तिन बर्षको कार्यकाल बाकि भएकाले राम्ररी काम ग¥यो भने धेरै काम गर्न सकिने बताए । ‘यसका लागि भिजन मिसन गोलको आवश्यकता पर्छ ।’ उनले भने – ‘तर २/४ जना बाहेक प्रदेश सरकारमा भएका माननियहरुबाट धेरै आशा गर्ने ठाउँ भने छैन ।’