अत्तरिया – निर्माणाधिन मोहना अत्तरिया ६ लेन सडक क्षेत्रमा पर्ने अत्तरिया स्थित हाईटेन्सन बिद्युत टावर नहटाई सडक कालोपत्रे गरिने भएको छ । ६ लेन सडक क्षेत्र भित्र पर्ने हाईटेन्सन बिद्युत टावर हटाउने बिषयमा अन्योलता कायमै रहदा बिना टावर हटाई कालोपत्रे गरिने भएको हो । सो क्षेत्रमा कालेपत्रेका लागि निर्माण कम्पनिले काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
राजेन्द्र निर्माण सेवाका ईन्चार्ज प्रयाग राज भट्टले हाईटेन्सन बिद्युत टावर नहटेकाले सो टावर भएको क्षेत्र छोडेर कालोपत्रे गर्ने काम भईरहेको बताए । उनले १ हप्ता भित्रमै मनहरा पुल देखि अत्तरिया चोक क्षेत्रको सडक खण्डामा कालोपत्रेको काम सुरु हुने बताए । ‘हाईटेन्सन बिद्युत टावर ६ लेन सडकको नाला र केहि भाग मुख्य सडकमा परेको छ । त्यसैले त्यो ठाउँमा कालोपत्रे गर्न सम्भव छैन ।’ ईन्चार्ज भट्टले भने – ‘टावर राखेको ठाउँको तलको नाला भने जोडीदिने छै ।’ यसअघि सो टावर क्षेत्रको नाला समेत निर्माण गरिएको थिएन् । टावर नहटाई सडक निर्माण गरिदा सो ठाउँको सडकको चौडाई घट्ने भएको छ ।
उक्त हाईटेन्सन बिद्युत टावर हटाउन अत्तरिया ग्रीड शाखाले स्टिमेट तयार पारेको भएपनि टावर हटाउन बजेट बिनियोजन हुन नसक्दा अन्योलता कायमै छ । मोहनापुल अत्तरिया सडक आयोजनाका सुचना अधिकारी खगेन्द्र बहादुर शाहीले हाईटेन्सन बिद्युत टावर हटाउनको लागि सडक आयोजना कार्यालयबाट मात्रै सम्भव नरहेकोले केन्द्रमा लागत स्टमेट पठाएको बताए । ‘टावर हटाउनका लागि हामीले केन्द्रमा पत्र पठाएका छै तर अहिले सम्म कुनै प्रतिक्रिया आएको छैन ।’ अधिकारी शाहीले भने – ‘यसको लागि लेखराज भट्ट पनि केन्द्रमा पहल गर्न लागिरहनु भएको छ । यसका लागि कुलमान धिसिङले चासो नदिदा सम्म समस्या सामाधान नहुने देखिएको छ ।’ उनले यसका लागि मन्त्रालय स्तरबाटै चासो नदिदा सम्म सामाधान नहुँने बताए ।
अत्तरिया ग्रिड शाखाका प्रमुख गणेश पाण्डेले शाखाबाट गर्नु पर्ने सम्पुर्ण प्रक्रिया पुरा भएको बताए । ‘डेढ बर्ष अगाडी नै सडक आयोजना कार्यालयबाट टावर हटाउने बिषयमा पत्र प्राप्त भएको हो । हामीले पत्र बमोजिम केन्द्रमा जानकारी गराएका हौ । त्यसपछि केन्द्रबाटै आएको टोलीले टावर हटाउनको लागि स्टमेट तयार पारेका हो ।’ प्रमुख पाण्डेले भने – ‘तयार भएको स्टमेट हामीले सडक कार्यालयमा पठाईदिएका हौ ।’ उनले हामीले स्टमेट तयार गर्ने र प्रबिधिक सहयोग गरिदिने भएकाले त्यहि अनुसार काम सम्पन्न गरेको बताए । उनले मोहनापुल अत्तरिया सडक आयोजना कार्यालयले हटाउन नसक्ने भएपछि केन्द्रमा कुरा अगाडी बढाउनु पर्ने बताए ।
हाईटेन्सन बिद्युट टावर हटाउन अत्तरिया ग्रिड शाखाले तयार पारेको स्टमेटमा १ करोड ४६ लाख लागत लाग्ने देखिएको छ । मोहनापुल अत्तरिया सडक आयोजना कार्यालयले धेरै लागत लाग्ने भएकाले यसका लागि केन्द्र बाटै पहल हुन आवश्यक भएको बताउँदै आएको छ ।
४०/५० लाखमै नयाँ टावर वनाउन सकिने भएपनि हाईटेन्सन बिद्युट टावर हटाउन अत्तरिया ग्रिड शाखाले तयार पारेको स्टमेट धेरै बढी भएको भनेर बिरोध समेत भएको छ । तर अत्तरिया ग्रिड शाखा प्रमुख पाण्डेले भने यो अन्य टावर बनाए जस्तो सहज नभएको बताए । उनले अन्तिम बिन्दुको टावर (डेडेन टावर) भएकाले यसका लागत बढी लागेको हुन सक्ने बताए । उनले लागत बढी देखिएको भएपनि यसका बिषयमा पुन अध्ययन गरी छलफलन गर्न सकिने बताए ।
२०४६ सालमा निर्माण भएको यस हाईटेन्सन बिद्युट टावर टनकपुरबाट नेपाल बिद्युत प्राबिधिकरण संग जोडिएको अन्तिम टावर हो । यहि टावर भएर भारतीय बिद्युत नेपाल ल्याउने र नेपालमा बढी भएको बिद्युत भारत पठाउने गरिएको छ ।
वि स २०७४ जेठमा ३ खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएर सडक निर्माणको म्याद २०७६ जेठमा सकिएको पनि ६ महिना बितिसक्दा पनि सडक किनारामा रहेको हाईटेन्सन बिद्युत टावर कसले र कसरी हटाउने भन्ने अन्योलता कायमै छ ।
धनगढी भन्सार रोड देखि अत्तरिया चोक सम्म १४.२ किलोमिटर लामो ६ लेन सडक ३ खण्डमा छुट्याएर छुट्टा छुट्टै ठेक्का मार्फत् काम भइरहेको छ । आयोजनाको दोस्रो र तेस्रो खण्डको ठेक्का निर्माण कार्य राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने पहिलो खण्डको निर्माण नागार्जुन जेभीले गरिरहेको छ ।
समयमै सडकको निर्माण गर्न नसकेको आरोप निर्माण व्यवसायीहरुलाई लाग्ने गरेको भएपनि निर्माण व्यवसायीले भने समयमै साईड क्लियर हुन नसक्नु पनि निर्माण कार्यमा ढिलाई हुनुको कारण भएको बताउने गरेका छन । १ अर्ब ६८ करोड रुपैयाँ आयोजनाको लागत रहेको मोहना अत्तरिया ६ लेन सडक यस क्षेत्रमा सञ्चालित ठूला आयोजना मध्ये एक हो ।