अत्तरिया – सरकारले सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा ९ प्रतिशत नागरिक मात्रै सहभागी भएका छन । २०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशमा २ लाख ३२ हजार ५ जनाले स्वास्थ्य बीमा गराएका छन ।
जुन नेपालको अनगणना २०६८ अनुसार ९ प्रतिशत मात्रै हो । स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कैलालीमा सबैभन्दा बढी १ लाख ३० हजार ४ सय २७ जनाले स्वास्थ्य बीमा गराएका छन भने सबैभन्दा कम दार्चुलामा ४ हजार ८ सय ६५ जनाले स्वास्थ्य बीमा गराएका छन । त्यस्तै बझाङमा २८ हजार ७९ , बाजुरामा २६ हजार ३ सय १३ , अछाममा २४ हजार ४ सय ७३, बैतडीमा १० हजार ९ सय ४३ र कन्चनपुरमा ६ हजार ९ सय ५ जनाले स्वास्थ्य बीमा गराएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य बीमा कार्यक्रम संयोजक जनक बहादुर साउँदले बताउनुभयो । उहाँले छिटै सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न बाकि रहेका जिल्ला डोटी र डडेल्धुरामा पनि कार्यक्रम संचालन गरिने बताउनुभयो ।
‘कार्यक्रम संचालनका लागि डडेल्धुरा र डोटीमा दर्ता सहयोगी छनोट गर्ने काम अहिले चलिहरेको छ । प्रत्येक वडामा एक जना दर्ता संयोजक राखिने छ ।’ कार्यक्रम संयोजक साउँदले भन्नुभयो, –‘अहिले स्थानिय निकाय संग पनि कार्यक्रम संचालनका लागि समन्वयको काम भईरहेको छ ।’
स्वास्थ्य बीमा शुल्क र पाउने सुबिधा बढ्यो
यसअघि ५ जनाको परिवार संख्याका लागि २ हजार ५ सय लिइैदैं आएकोमा स्वास्थ्य बीमा शुल्क बढेर ३ हजार ५ सय पुगको छ । शुल्क बढेसंगै बिमाकर्ताले पाउने बीमा सुबिधा पनि बढेको छ । २ हजार ५ सयमा ५० हजार बराबरको स्वास्थ्य उपचार सुबिधा पाईदै आएकोमा अब भने १ लाख सम्म स्वास्थ्य उपचार सुबिधा पाईने संयोजक साउँदले बताउनुभयो ।
त्यस्तै ५ जना भन्दा बढी परिवार संख्या भएमा थप प्रतिव्यक्ति ४ सय २५ लिईदै आएकोमा अब भने ७ सय पुगेको छ । थप गरिएको सदस्यले प्रतिव्यक्ति २० हजार बराबरेको स्वास्थ उपचार सेवा पाईने संयोजक साउँदले बताउनुभयो ।
संयोजक साउँदले ७० बर्ष पुगेका जेष्ठ नागरिकले भने निशुल्क स्वास्थ्य बीमा गराउन पाउने बताउनुभयो । उहाँले एचआईभी संक्रमीत , कुष्ठरोग र क वर्गको अपाङ्गता भएका परिवारको भने निशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभयो ।
साथै महिला स्वास्थ्य स्वयम्सेविकाको परिवारको लागि ५० प्रतिशत सरकारले तिर्ने गरी स्वास्थ्य बिमा गराईदै आएको छ । आगामी दिनमा प्रदेशको सामाजिक बिकास मन्त्रालय र प्रदेश बीमा बोर्ड बीच यस प्रदेशमा कार्यरत सबै स्वयम्सेविकाको निशुल्क बीमा गराउने गरी तयारी भईरहेको संयोजक साउँदले बताउनुभयो ।
कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले सम्म ४९ जिल्लामा सुरु भइसकेको छ । तर स्वास्थ्य बीमा कार्यक्रममा सहभागीता भने आशातित देखिएको छैन । स्वास्थ्य बीमा गराई बाफत बिमा कर्ताले तोकेको स्वास्थ्य संस्थामा तोकिएको रकम भित्रमा निशुल्क सेवा लिन पाउँछन ।