अत्तरिया - कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज अन्तिम अर्थात १३ औँ दिन देउडा गायक भोजराज भट्ट ,लोक दोहोरी गायिका कल्पना दाहाल र गायिका सुजाता केसी आउँदै छन् ।
अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ मा आज १३ औँ दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए ।
यसअघि (हिजो ) आइतबार चर्चित लोक दोहोरी गायक कुलेन्द्र वि.क , लोक पप तथा देउडा गायक सुरेश चोखाल र गायक गणेश चौतारीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए।
महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीहरुको लागि ५० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।डेढ सय वटा स्टल रहेको महोत्सवमा बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु रहेका छन् ।
अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज औपचारिक रुपमा समापन गरिदै छ । कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले समापन गर्ने कार्यक्रम रहेको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ । आज दिउँसो १ बजे सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ को समापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ। ‘समद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ पुस २७ गतेदेखि सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए ।