अत्तरिया - कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज दशौँ दिन ।
अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ मा आज चर्चित गायक प्रताप दास , देउडा गायक टेक बोगटी र नृत्यङ्गना अन्जली चन्द ठकुरी आउँदै छन् ।
महोत्सवको आज दशौँ दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए । यसअघि (हिजो ) बिहिबार चर्चित लोक दोहोरी तथा देउडा गायिका पुर्णकला बि.सी , देउडा गायक महेश आउजी र नृत्यङ्गना रोमा न्यौपानेले आफ्नो बेजोड प्रस्तुती राखेका थिए।
महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।डेढ सय वटा स्टल रहेको महोत्सवमा बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु रहेका छन् ।
महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । पुस २७ गते देखि सुरु भएको महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ।