दार्चुला-नेपाल भारत जोड्ने दार्चुलाको नाका नियमित रुपमा खोल्न संघिय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले सदरमुकाम खलंगा स्थित घाटबजारमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल नियमित रुपमा खोल्न गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई निर्णय गर्ने गरेको हो ।
सर्वपक्षिय बैठकले सिमाका नागरिकको जनजिविका संग जोडिएको सिमा पुल नियमित रुपमा खोल्न सरकारलाई लेखि पठाउने निर्णय गरिएको जिल्ला समन्वय समिति दार्चुलाका समन्वय अधिकारी मोहन सिंह धामीले जानकारी दिए । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण बन्द अवस्थामा रहेको झोलुङ्गे पुल नियमित रुपमा नखुल्दा यस भेगको आर्थिक, सामाजिक जिवनमा प्रभाव परेको भन्दै सिमा पुल नियमित रुपमा खोल्न नेपाल सरकारलाई अनुरोध गने निर्णय गरिएको हो ।
समन्वय समितिका प्रमुख करविर बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्ट, प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहरा, नेकपाका जिल्ला अध्यक्ष गणेश खत्री, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह ठगुन्ना, सुरक्षा निकायका प्रमुख लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।