काठमाण्डौं – एनसेल नेपालले सरकारलाई १ अर्ब २२ करोड कर तिरेको छ । आइतवार उसले सरकारलाई कर तिरेको हो । बन्दाबन्दीको समयमा असार ७ गतेसम्ममा कर तिर्न सरकारले ताकेता गरेपनि सर्वोच्च अदालतले लकडाउन सकिएको एक महिना भित्रमा कर तिरेहुने बताएको छ ।
यद्यपी यस अवधिमा करदाताहरूले स्वस्फूर्त रुपमा कर भुक्तानी गरिरहेका छन् । एनसेलले पनि बन्दाबन्दीको समयमा सरकारलाई सहयोग पुग्ने भन्दै कर भुक्तानी गरेको हो ।
चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण अर्थतन्त्र स्थिर हुँदा कर उठ्न सकेको थिएन । जसबाट राज्यलाई अधिक आर्थिक भार परेको थियो । अर्थतन्त्र संकटमा जाँदै गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले प्रशासनिक खर्चहरू समेत गर्न नसक्ने अवस्था पुग्न लागेको भन्दै कर तिर्न आह्वान गरेका थिए ।
कर तिर्ने विषयमा शुरूमा विवाद उत्पन्न भएपनि विस्तारै कर असुली हुन थालेको हो । एनसेलसँगै अन्य ठूला करदाताहरूले पनि स्वस्फुर्त रुपमा कर तिर्न थालेका छन् ।