काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि २०७८ फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको छ ।
सोमबार प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।
त्यस्तै , महासंघका अनुसार चाँदीको भाउ भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।