कञ्चनपुर - कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मतको काम अघि बढाइएको छ । भारतीय सीमा सुरक्षाबल (एसएसबी) को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो । भारतीय पक्षले जोर नम्बरका २४ वटा जीर्ण सीमास्तम्भ मर्मत गरिरहेको छ ।
नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयअनुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक सातादेखि सीमा स्तम्भ मर्मत भइरहेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरका अनुसार बिओपी कञ्जभोज अन्तर्गत पर्ने सीमास्तम्भ नं ७९८, ७९६/१, ७९६/२,७९६/३ र बिओपी देवीस्थान अन्तर्गत पर्ने सीमास्तम्भ नं ८००, ८००/१, ८००/२, ८००३ भारतीय एसएसबीले मर्मत गरेका छन् । बिओपी भूमिराज अन्तर्गत पर्ने सीमा स्तम्भ नं ८०२, ८०२/१,८०२/२, बिओपी गड्डाचौकी अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०६, ८०६/१, ८०६/४, ८०६/५, ८०६/६, ८०६/२, बिओपी जिमुवा अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०८, ८०८/१, बिओपी ब्रह्मदेव अन्तर्गत पर्ने सीमास्तम्भ नं ८१२/१, ८१०/१, ८१०, ८१२ र बिओपी बयल बन्दा अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०४ को मर्मतको कार्य जारी रहेको छ ।
नेपाली पक्षले दुई वर्षअघि बिजोर नम्बरका सीमास्तम्भ मर्मतको कार्य गरेको थियो । नेपाली पक्षले पुनर्वास नगरपालिका ११ डोके बजारदेखि बेलौरीसम्मका बिजोर नम्बरका जीर्ण सीमास्तम्भ मर्मत गरेको थियो । ढलेका, हराएका, नदीले बगाएका र विवादित क्षेत्रका सीमास्तम्भबारे दुवै देशको सर्भे टोलीको निर्णय अनुसार मर्मत र पुनःनिर्माण हुने सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।
‘विवादित क्षेत्रका सीमास्तम्भ भारतीय पक्षलाई मर्मत लगायतका कुनै पनि काम नगर्न भनेका छौँ ।’ सशस्त्र प्रहरी उपरीक्षक ऐरले भन्नु भयो । विवादरहित क्षेत्रका सीमास्तम्भ मात्रै भारतीय पक्षले मर्मत गरिरहेको उहाले बताए । । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सीमा बैठकमा सीमास्तम्भ मर्मत गर्ने सहमति भए अनुसार भारतीय पक्षले मर्मत गरिरहेको जानकारी दिए । कञ्चनपुरमा ६४ मुख्य, २२२ सहायक, १०४ साना सीमास्तम्भ रहेका छन् ।