काठमाडौं - सरकारले संदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि संघीय संसदका दुवै संसदमा आजदेखि छलफल सुरू हुँदैछ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो।
प्रस्तुत बजेट वक्तव्यमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै बजेटमाथिको छलफलको सम्भावित कार्यसूची रहेको राष्ट्रियसभा बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी एमालेले संसदबाटै ‘भण्डाफोर’ गर्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट हावादारी भएको भन्दै संसदमै भण्डाफोर गर्ने जनाएको छ।सोमबार बसेको संसदीय दलको बैठकमा नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका थिए।
बजेट अनुचित ढंगले, विनासिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढन पार्टीका अध्यक्ष ओलीले निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ। बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिएका थिए।