धनगढी - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख २७ गते रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।
चुनावी प्रचारको लागि सोमबार (आज) र मंगलबार (भोलि) दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् ।
यस्तै, बैशाख २७ गते मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । मंगलबार राति १२ बजेदेखि मतदान हुने दिन शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ।
स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै बैशाख २७ गते देखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।