अत्तरिया - गृहमन्त्री बालकृष्ण खाँणले कैलाली , कञ्चनपुर सहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु फोन गर्दै जिल्लाको शान्तिसुरक्षाको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् ।
उनले आज बिहान कैलाली कञ्चनपुर सहित १४ जिल्लाका प्रजिअसँग टेलिफोन मार्फत सो बिषयमा जानकारी लिएका हुन्।
गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका हुन् ।
फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधका थिए ।
उहाले कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा , सुनसरीका इन्द्रदेव यादव, मोरङका काशीराज दाहाल , झापाका छविलाल रिजाल , बाराका कृष्णबहादुर कट्वाल , नवलपरासी पश्चिमका ध्रमेन्द्र मिश्र , रुपन्देहीका ऋषिराम तिवारी सँग टेलिफोन वार्ता गरेका हुन् ।
त्यसैगरी कपिलबस्तुका चक्रपाणी पाण्डे , बाँकेका सूर्यबहादुर खत्री , बर्दियाका सन्तबहादुर सुनार , दाङका हिरालाल रेग्मी, पर्साका उमेशकुमार ढकाल र कञ्चनपुरका रामप्रसाद पाण्डे तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गरेका थिए ।
कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताए ।
पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले फोन गर्दा काम गर्ने हौसला मिलेको उल्लेख गरे ।