अत्तरिया - आज सोनाम ल्होसार । तामाङ समुदायले सोनाम ल्होसारलाई नयाँ वर्ष पर्व रुपमा आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाईदै आएको छ ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५८ औँ वर्ष शुरु हुन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्वागत गरिँदैछ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाइन्छ । यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
मन्त्रीपरिषद बैठकवाट आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका साथ पर्व मनाउन आग्रह गरिएको छ ।