काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए । जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। उनको असार ३ गते बेलुकी निधन भएको हो । यस्तै, लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागे पनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो । उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।