काठमाडौं - नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ जनाको नमूना परीक्षण गर्दा आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बितेको २४ घण्टामा ९ हजार ९१० नमूनाको पीसीआर र ३ हजार २३५ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४९ जना र एन्टिजेन परीक्षणबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, गएको २४ घण्टाको अवधिमा ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ।