धनगढी – थ्रीस्टार क्लब नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ । धनगढी रंगशालामा आईतवार भएको दोस्रो सेमिफाईनलमा जित हात पार्दै सहिद स्मारक ’ए’ डिभिजन लिग क्लब थ्री स्टार सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
कैलाली धनगढी रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो । धनगढी रंगशालामा थ्री स्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे । उनले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरे । अशोक खवासको कर्नरमा डिबक्स भित्र रहेका आशिषले सहजै गोल गरे । जुन गोल थ्री स्टारको लागि निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच थ्री स्टारका अनन्त तामाङ चुनिए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे ।
फाइनल प्रवेश गरेपछि थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले पाएको अवसरमा गोल गर्न सफल भएको बताउनुभयो । ’नकआउट प्रतियोगितामा दबाबको खेल हुन्छ । सेमिफाईनलमा त्यही भयो । जसरी पनि जित्नु पर्ने थियो,’ उहाँले भन्नुभयो, ’शेर्पाले हाम्रो भन्दा राम्रो खेल्यो । अवसर भने बनाउन सकेन । हामीले दुई मात्रै अवसर बनायौं । त्यसमा एक गोल निस्कियो ।’
उहाँले सेमिफाइनलमा भएको गल्ती फाइनलमा सुधार्ने बताउनुभयो । यस्तै शेर्पाका व्यवस्थापक शुशील तामाङले गोल ननिस्कदा हार्नु परेको बताउनुभयो । ’राम्रो खेल खेल्दा खेल्दै गोल निस्केन । मौका पाएको हो उहाँले भन्नुभयो,– भाग्य पनि रहेनछ । खेलाडीले सोचे जस्तो खेले ।’
अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लबको सामना गर्नेछ । सोमबार भएको पहिलो सेमिफाईनलमा खेलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ ।
फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।
नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र टिकट पाटर्नरमा स्टेपिङ स्टाने स्कुल रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।