अत्तरिया – धानबाली भित्राउने समयमा धानमा बालानै नलागेपछि अहिले किसानहरु चिन्तित भएका छन । सुदूरपश्चिम प्रदेशको कैलाली कन्चनपुरमा किसानहरुले खेती गरेको गरिमा जातको धानमा बाला नै नआएपछि अहिले किसानहरु चिन्तित बनेका हुन ।
धान रोप्ने समयमा मल, पानी नपाएका किसानहरु अहिले जसोतसो गरी धान रोपेर पनि बाला नआएपछि चिन्तीत बनेका छन । कैलाली कन्चनपुरमा अहिलेसंम्मको तथ्याङ्क अनुसार ३ सय ४८ हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीमा बाला आएको छैन । कृषि निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले कैलाली कन्चनपुरमा अहिले सम्म ३ सय ४८ हेक्टर क्षेत्रफलमा रोपिएको गरिमा जातको धानमा बाला नलागेको बताए । उनले केहि क्षेत्रमा तथ्याङ्क संकलनको काम बाकी रहेकाले क्षेत्रफल अझै बढ्न सक्ने बताए । उनले किसानहरुले बिगतका बर्षमा गरिमा जातको धानबाट राम्रो फाईदा लिने गरेका बताए । यस बर्ष के कारणले धानमा बाला लागेन भन्ने बिषय अनुसन्धानकै क्रममा रहेकाले अहिले नै केहि भन्न नसकिने निर्देशक जोशीले बताए ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष प्रकाश थापाले सरकारले धानमा बाला नलागेर क्षेति बेहोरेका किसानलाई उचित क्षतिपुर्ति दिनुपर्ने बताए । उनले सरकारकै लापरवाहिका कारण गलत धानको बिउ किसानसम्म पुगेको बताए ।
उनले धानमा बाला नआउँदा किसानहरुले ठुलो आर्थिक नोक्सान बेहोर्नु पर्ने अवस्था आएको बताए । ‘एउटै किसानले २/३ बिगामा खेती गरिएको धानमा बाला लागेको छैन । किसान निकै पिडीत छन ।’ अध्यक्ष थापाले भने – ‘सरकारले किसानहरुलाई उचित क्षतिपुर्ति दिनुपर्छ र के कारणले धानमा बाला नलागेको हो जानकारी पनि दिनुपर्छ ।’ उनले अहिलेको गल्तिबाट पाठ सिकी आगामी दिनमा पनि यस्तो समस्या नदोहोरीयोस् भन्नका लागि किसानहरुलाई खेती गर्नु अघि नै के के कुरामा ध्यान दिने भन्ने कुरामा सचेत गराउनु पर्ने बताए ।
अहिले कैलालीको गौरीगंगा नगरपालिका , घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका, गोदावरी नगरपालिका लगायतका क्षेत्रमा रोपिएको गरिमा जातको धानमा बाला लागेको छैन । त्यस्तै कन्चनपुरको शुक्लाफाँटा नगरपालिका बेलौरी नगरपालिका , पुनर्बास नगरपालिका र बेल्डाडी गाउँपालिकामा पनि खेती गरिएको गरिमा जातको धानमा बाला लागेको छैन ।
गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले प्रमाणिकरण गरेको थियो । पूर्ण तथ्याङक नआए पनि अहिले कैलाली कन्चनपुरका १ हजार भन्दा बढी किसानले खेति गरेको धान बालीमा बाला नलागेको पाईएको छ ।
भारतको हैद्राबादमा रहेको रेन्वा सिद्ध साईन्स इन्डिया प्रालीले उत्पादन गरेको उक्त धानको बिउ सनराईज एग्रीकल्चर प्राली दाङले नेपालमा भित्रयाएको हो । नेपाल सरकारले अनुमती दिएर सुचिकृत गरेपश्चात गरिमा जातको धान नेपाल भित्राईएको थियो ।
प्रतिहेक्टर ५८ क्युन्टेल उत्पादन हुने यो धान १२५ दिनमा पाकिसक्ने कृषि निर्देशनालय डोटीका निर्देशक यज्ञराज जोशीले बताए । उनले यो बर्णसंकर जातको धान ९५ दिन भित्रमा फुल फुलिसक्ने बताए । उनले अब धानमा बाला लाग्ने सम्भावना भने एकदमै कम देखिएको बताए ।