अत्तरिया – भारतको पिलीभित निवासी महोमद गुड्डु कैलालीको अत्तरियामा तरकारी खेती बाट मनग्य आम्दानी गर्दै आउनु भएको छ । कैलालीको गोदावरी नगरपालीका १ मा १ बिगा १७ कट्टा जग्गा भाडामा लिएर गुड्डु तरकारी खेती गर्दै आउनु भएको हो । गुड्डुले तरकारी खेती अन्तरगत गोलभेडा , भन्टा , खुर्सानी , काक्रा , लौका करेला लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको छ ।
बार्षिक ३५ हजार प्रति बिगाका दरले जग्गा भाडामा लिएका गुड्डुको तरकारी बारीमा ३ जना नेपालीले नियमीत रोजगारी समेत पाएका छन । ३ जनालाई ज्यालामा काम लगाएको भए पनि काम भने बर्ष भरी नियमित नै हुने गरेको उनले बताए । गुड्डुले भने – ‘मैले अहिले तरकारी खेती बाट राम्रो आम्दानी गरेको छु , मैले गरेको कामबाट नेपालीहरुले पनि आफै ठाउँमा काम पाएका छन ।’
भारतबाट ८ बर्ष अगाडी नेपाल आएका गुड्डु यताको हावापानी र माटो तरकारी खेतीका लागि राम्रो भएकाले नेपालमै जग्गा भाडामा लिएर खेती गरेको वताए । ‘यहाँ भारतमा आफू बस्ने ठाउँको भन्दा राम्रो हावापानी भएकाले बिगत ८ बर्ष देखि यतै खेती गर्ने गरेको छु , यहाँ बजारको पनि कुनै समस्या छैन’ गुड्डुले भने – ‘अहिले यहि तरकारी खेती बाट खान लाउन पुगेर छोराछोरीलाई पनि नेपालकै बोर्डिङ स्कुलमा पढाइरहेको छु ।’ कुनै ठाउँमा तरकारी खेतीको तालीम नलीएका गुड्डुले आफ्ना बुवा आमाले तरकारी खेती गर्ने भएकाले वहाहरुबाट नै तरकारी खेती गर्न सिकेको बताए ।
सरकारी अनुदान आवश्यक छैन
नेपालीहरुले व्यवसायीक खेती गर्नका लागी प्राबिधिक ज्ञान नभएको , लगानी नभएको , सरकारी अनुदान नभएको भनेर पन्छिने गरेका बेला गुड्डुले भने आफुलाई कुनै सरकारी निकायको सहयोग आवश्यक नभएको बताए ।
‘मैले काम गर्दै जादा प्राबिधिक सिप सिकेको छु र पैसाको अभाव भैहालेमा स्थानिय व्यपारीबाट ३ प्रतिशत मासिक व्याजमा पैसा लिएर पनि काम गरिरहेको छु । यसरी काम गर्दा पनि कुनै घाटा छैन ।’ गुड्डुले भने – ‘ मिहेनतका साथ काम गर्ने हो भने कुनै घाटा छैन । झन आफ्नै जग्गा हुनेले थोरै लागानी बाट पनि कृषिमा धेरै काम गर्न सक्छन ।’
मौसम अनुसार बगर खेती , बगर खेतीमा अधिकान्स भारतीय
महोमद गुड्डु भाडामा लिएको १ बिगा १७ कट्टा जग्गा बाहेक मौसम अनुसार बगर खेती पनि गर्ने गरेका छन । उनले बगर खेतीमा लौका , काक्रा , तरबुजा लगायतका तरकारी खेती गर्ने गरेका छन । ‘ बगर खेतीमा सामान्य खेती भन्दा मिहेनत र पैसा धेरै खर्च हुन्छ तर राम्रो उत्पादन लिन सकियो भने राम्रो फाईदा छ ।’ गुड्डुले भने – छिटो बर्षा सुरु नभएर नदिमा बाढी नआएमा राम्रै आम्दानी गर्ने गरेका छौ ।’ उनले भाडाको जग्गाका बाहेक सिजनमा बगर खेती गरि बार्षिक ८ लाख सम्मको तरकारीको कारोबार गर्ने बताए ।
गुड्डु मात्रै नभएर खोलमा पानी कम भएको समयमा अधिकान्स भारतीयहरुले तरकारी खेती गर्दै आएका छन । हिउँदमा नदिमा पानीको बहाव कम भएका बेला बगर किनारामा भारतबाट आउने किसानहरुले तरकारी खेती गर्दै आएका हुन । नेपालमा केहि अवसर नभएको भन्दै दैनिक दर्जनौ नेपाली बिदेश गएर खेत समेत बाझो भएको अवस्थामा भारती किसानले भने प्रयोगमै नआउने बगरमा समेत खेती गरेर नेपालबाट ठुलो परिणाममा रकम आफ्नो देश भित्र्याइरहेका छन ।
नेपाली किसानहरुलाई भने सरकारले बिऊ, बिजन , प्राविधीक तथा अनुदान सहुलियत र सुविधा दिइदा पनि कृषी पेशामा अझै युवाहरुको प्रयाप्त आकर्षण बढ्न सकेको छैन । तर भारतीय किसानले भनै आफ्नै पौरख र अनुभवबाट तरकारी खेती गरिरहेका छन् ।.