अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बुधबार आगामी आर्थिक बर्ष २०७८÷७८ को नीति कार्यक्रम प्रस्तुत गरेको छ । कोरोना महामारीका बिच आएको नीति तथा कार्यक्रममा कोरोना महामारी र यसको प्रभाव न्युनिकरणमा लक्षित छ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य पुर्वाधार, रोजगारी, कृषि प्राथमिकतामा परेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले महामारीबाट प्रत्यक्ष प्रभावित क्षेत्रमा आत्याधिक लगानी नगरे अशिक्षा, रोग , भोग र गरिबी बढ्न जाने भएकाले स्वास्थ्य पुर्वाधार, विदेशबाट फर्केका र बेरोजगार युवाका लागि आधुनिक कृषि र बजार एव स्वरोजगारका कार्यक्रम, विपद पुर्व तयारी र व्यवस्थापनका लागि ठोस कदम चाल्न आवश्यक भएको बताईन् ।
उनले कोरोना महामारीका कारण चालु आर्थिक बर्षमा पनि आशातित लक्ष्य हासिल गर्न नसकेकोले अधुरा प्रतिबद्धतालाई आगामि आर्थिक बर्षमा पनि समेटिएको बताईन ।
कोरोना महामारी रोकथाम र स्वास्थ्य पुर्वाधारमा जोड
कोरोना महामारिका बिच आएको नीति तथा कार्यक्रममा नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचार संगै स्वास्थ्य प्रणाली सुधारमा जोड दिईएको छ । जसका लागि नीति तथा कार्यत्रममा स्वास्थ्य संस्थाहरुमा आधुनिक उपकरण सहित सहित स्वास्थ्य पुर्वाधारमा जोड दिने र स्वास्थ्यको गुणस्तरमा विकासमा जोड दिने उल्लेख छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथामका लागि नगरपालिका मातहतमा रहेको मालाखेती अस्पतालमा कोरोना भाईरस लगायतका संक्रामक रोगको छुटै कक्ष संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘गुणस्तरीय स्वास्थ्यमा टेवा, टोल टोलमा चिकित्सकीय सेवा’ कार्यक्रम संचालन गर्ने, गोदावरी नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीको स्तारोन्नती र आधुनिकरण सहित अस्पतालको रुपमा विकास गर्न सम्बन्धित निकायमा पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती अस्पताल नाम फेरेर गोदावरी नगर अस्पताल राखिने भएको छ । नगर उपप्रमुख रत्ना कडायतले अस्पताललाई नगर स्तरीय अस्पताल बनाउन नाम फेरीन लागेको बताईन् । उनले अस्पतालले अहिले २४ घण्टा नै सेवा दिईरहेको र आगामी दिनमा अस्पतालमा थप सेवा थपिने बताईन् ।
रोजगारीका लागि कृषिमा जोड
नगरपालिकाले कोरोना भाईरसका कारण रोजगार गुमाएकाहरुका लागि कृषि मार्फत रोजगारी सिर्जना गर्ने नीति लिएको छ । नेपाल भारत तथा तेस्रो मुलुकका रोजगार गुमाएका युवाहरुलाई आधुनिक कृषि एव स्वरोजगारका कार्यक्रम र कृषिमा टुटेको उत्पादनलाई पुन स्थापित गर्न कृषि क्षेत्रलाई व्यवसायिकरण र यान्त्रीकरणमा जोड दिईने जनाईएको छ ।
त्यस्तै पशुजन्य उत्पादनमा जोड दिर्दै किसानहरुलाई उन्नत पशु स्वास्थ्य सेवा निशुल्क तथा लागत साझेदारीमा गर्ने र पशु विमा गर्न प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै नीति तथा कार्यत्रममा कृषिको विकासका लागि एक वडा एक उत्पादन, कार्यविधि बनाएर सामुदायिक बन भित्र बेसार, फलफुल खेती गर्ने, गाई भैसीको लागि सुत्केरी भत्ता तथा आहाराको व्यवस्था गरीने उल्लेख छ ।
९४ करोडको बजेट प्रस्ताव
नीति तथा कार्यक्रममा आर्थिक बर्ष २०७७/७८ का लागि ९८ करोड ३३ लाख बजेट प्रस्ताव गरिएको छ । जसमा चालु तर्फ ६२ करोड ७३ लाख ५५ हजार र पुजिगत तर्फ ३५ करोड ४९ लाख ४५ हजार रहने अनुमान गरिएको छ ।
जसको श्रोतका रुपमा संघिय सरकारबाट प्राप्त बित्तिय समानिकरण अनुदानबाट १९ करोड १० लाख, सशर्त अनुदानबाट ३४ करोड ५८ लाख, राजश्व वाडफाडबाट १४ करोड २३ लाख ७८ हजारर समपुरक अनुदानबाट २ लाख ८ हजार तथा प्रदेश सरकारको वित्तिय समानिकरणबाट अनुदानबाट ८१ लख ८४ हजार, प्रदेशमा राजश्व बाडफाडबाट प्राप्त ४८ लाख ५४ हजार, आन्तरिक आयबाट १४ करोड २१ लाख ५ सय र संचित कोषको मौजादबाट १२ करोड ७१ लाख ८३ हजार प्राप्त हुने उल्लेख छ ।
गोदावरी नगरपालिकाको पाँचौ नगरअधिबेशन अहिले चलिरहेको छ । नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले अधिबेशनको सभापतित्व गरिरह्नु भएको छ । केही बेर अघि देखी बन्द सत्र शुरु भएको छ । संबैधानिक ब्यबस्था अनुसार स्थानिय सरकारहरुले असार १० सम्म बजेट निती तथा कार्यक्रम ल्याउनु पर्ने कानुनी ब्यबस्था अनुसार नगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गरको हो ।